सपनामा सगरमाथा सम्म

धेरै दिनको कामको चापपछि बल्ल फुर्सद मिलेको थियो । फुर्सदलाई सदुपयोग गर्दै दुई चार जना साथी विराटनगर भन्दा बाहिर घुम्न जाने योजना बनाउदै थियौँ ।

निरज, कुमार, राज होली डे प्लानिङ्का लागि सल्लाह गर्न मेरो कोठामा आएका थिए । साथीहरुको सत्कारका लागि म भान्सामा चिया पकाउँदै थिएँ। उनीहरु सगरमाथाको आधार शिविरसम्म पुग्ने योजना बनाउँदै थिए ।

म भान्साबाट उनीहरुलाई प्याकेज नै बनाएर जाउँ भनेर आग्रह गर्दै थिएँ । मेरो मोवाइलको घण्टी बजिरहेको थियो । हल्लाले गर्दा मोवाइलको रिङ मेरो कानसम्म पुगेको थिएन । दाई फोन आयो– निरजले भन्यो । कस्को हो ? भान्साबाटै मैले सोधें ।


खै नम्बर सेभ छैन । चिया उम्लिदै थियो हतार हतार मोवाइल भएको ठाउमा आए ।
नम्बर सेभ थिएन ।
रिसिभ गरेंँ ।
 भाइ के छ हालचाल सञ्चै छौ ?
फोन कानमा पर्ने वित्तिकै आवाज गुञ्जियो ।

 नम्बर नचिनेपनि आवाज कतै सुने जस्तो लाग्यो ।
मान्छे चिनेँ ।
उहाँ प्रदेश नम्बर ७ मा बस्ने मेरो जेठो दाजु हुनुहुन्थ्यो ।

पूर्व आउँकी भनेको घुम्नलाई । उहाँले भन्नु भयो ।

होर, आनुहोस् न म छँदै छु नी ।

परिवारसहित आउने योजना बनाएको भाइ घुम्ने ठाउँ त छ नी पूर्वमा ? फेरि सोध्नु भयो ।

कस्तो प्रश्न गर्नुभएको दाजु के–के घुम्ने सोच बनाउनु भएको छ त्यो चाहिं भन्नुु्स् न, मैले भनेंँ ।

मलाई सगरमाथालाई नजिकबाट हेर्ने मन छ । बाबु पनि खुब रहर गर्दैछ । अनि पूर्व आएकै बेला पाथिभरा माताको दर्शन पनि गराैँ कि भनेको । उहाँले भन्नु भयो ।

कति दिनको छुट्टीमा आउँदै हुनुहुन्छ ? मैले सोधें ।

एकसाता । दाईले भन्नुभयो ।

ठिक छ , आउनु न,
 तपाईलाई प्रदेश नम्बर १ को सबै पर्यटकीय क्षेत्रको अवलोकन गराउने जिम्मा मेरो ।

ठीक छ तर के छ भनाई बिशेष, कहाँ कहाँ बस्नु सात दिनसम्म । दुईवटा प्रश्न एकै पटक म माथि तेर्सियो ।

दाजु , पूर्व पश्चिम रेल चढेर आउनुहोस् । पाइयो भने सिधै विराटनगर आउने ट्रेनको टिकट काट्नु होला ।
नभए इटहरीसम्म आएर मोनो रेलको मजा लिँदै विराटगरसम्म आउन सकिन्छ ।

हामी पहिलो दिन विराटनगर नै घुम्छौ । प्रदेश नम्बर १ को राजधानी विराटनगर स्मार्ट सिटी हो । यहाँ रहेका पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्न दुई दिन लाग्छ ।
युरोप अमेरिकाबाट मान्छेहरु विराटनगरमा मात्रै १५–१६ दिन बिताउँछन् ।
हामी सरसर्ती दुई दिनमा घुमेर सक्छाै‌ं ।

तपाई आएपछि सिंघिया खोलाको ग्रिन बेल्ट बगैचा हेर्न पुष्पलाल चोक माथिबाट बोट रिजर्व गरेर हामी खोला किनारको अवलोकन गर्नेछौ ।
पोखरियाको परोपकार विश्रान्ति स्थलमा रहेको जातीय संग्रहालयको अवलोकन गर्नेछौ ।
त्यहाँका ऐतिहासिक सामग्री हेर्नेछौ । त्यहाँ हामीलाई डेढदेखि दुई घण्टा लाग्नेछ ।

त्यसपछि फेरि बोट चढेर ग्रिन बेल्टको बाटो हुँदै प्राकृतिक दृष्य हेर्दै परम विश्रान्ति स्थलमा राखिएका विभिन्न प्रजातिका जनवारहरु हेर्नेछौं ।

त्यसपछि बोट चढेरै भेडियारीसम्म पुग्ने छौ । करिब नाै किलोमिटर दूरी पार गर्न हामीलाई चार पाँच घण्टा लाग्नेछ ।
त्यसपछि भेडियारीस्थित विराट राजाको दरवारको अवलोकन गर्नेछाै‌ । जहाँ विराट राजाका ऐतिहासिक सामाग्रीहरुको अवलोकन गर्नेछौं ।

विराटनगरकाे नाम पनि विराट राजाकाे दरवारसँग जाेडेर राखिएकाे हाे भन्ने भनाई छ ।
यहाँ आउँदा विराट राजाको दरवार नजाने मान्छेहरु पछुताउँछन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको सक्रियतामा संरक्षण गरिएको दरवारमा रहेका पुरात्तात्विक महत्वका सामग्री हेर्दा तपाई र भतिजले धेरै कुरा सिक्न पाउनुहुन्छ ।
विराटनगर चक्रपथ मोनो रेल दरबार क्षेत्रबाट गुड्छ ।  हामी मोनोरेल चढेर विराटनगर बजारलाई परिक्रमा गर्नु पर्छ ।
४६ किलोमिर चक्रपथसँगै मनोरेल दक्षिण एसियाकै उत्कृष्ठ छ ।
मोनोरेलबाट नै हामी केसलिया खोलाको पर्यटकीय क्षेत्र हेर्ने छौ । मोनोरेल चढेर हामी विराटनगर जुट मिल पनि पुग्ने छौं ।

नेपालका पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीले काम गरेको जुटमिल नेपालकै जेठाे ऐतिहासिक मिल हो ।

नेपालको पहिलो जुटमिलबाट नै तारिणीप्रसाद कोइरालाले रेडियो प्रजातन्त्रको प्रशारण गरेका थिए ।

 सातसालको क्रान्तिपछि प्रजातन्त्र रेडियोको नाम परिवर्तन भएर रेडियो नेपाल राखियो ।
ती नै कोइरालाको सम्मानमा रेडियो नेपाललले विराटनगरमा तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम निर्माण गरेको छ ।

 त्यो हाम्रालागि निकै उपयोगी बनेको छ । हामी ऐतिहासिक विराटनगर जुटमिल भित्रको संंग्रहालय पनि हेर्नेछौँ । विराटनगर जुट मिलले प्रदेश नं १ को मात्र नभएर राष्ट्रकै अर्थतन्त्रमा ठूलो टेवा पुर्याएको छ । दुई हजार मजदुरले रोजगारी पाएका छन् । पहिले जुटमात्र उत्पादन हुने मिलले प्लाष्टिक निषेधित क्षेत्र बनाउनका लागि झोला, कपडा लगायतका सामग्री उत्पादन गर्दै तेस्रो मुलुकसम्म निर्यात गर्दै आएको छ ।

तपाईंलाई थाहा होला कुनै समय बन्द रहेको जुट मिलले उदारणीय काम गरेको छ ।

जुटमिलपछि हामी विराटनगरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हेर्नेछौ । जहाँ भारत र नेपाल बीच वानडे म्याच भएको थियो । जहाँ विराट कोहलीको टिमलाई पारस खड्काको टिमले पराजित गरेको थियो । 

रंगशालापछि हामी कोशी अञ्चल अस्पताल अघि रहेको कोइराला निवास हेर्नेछौँ ।

जुन घरले नेपालका लागि तीन वटा प्रधानमन्त्री दिएको थियो । बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएका थिए । यो निवास संयोगले बचेको थियो दाजु ।

कोइराला परिवारको छोरा खलकमा अंशबण्डा गरेर बिक्री गर्दा ऐतिहाँसिक घर ओझेलमा परेको थियो । तर हाम्रा मेयर भीम पराजुलीले घर संरक्षण गरेर संग्रहालय बनाउन ठूलो भूमिका निर्वाह गरेका थिए । याे घर हेर्न आउनेमा दैनिक दुईसय जति विदेशीहरु नै हुन्छन् ।

राम, राम,
 विराटनगर घुम्नै दुईदिन लाग्ने रछ ?
मेरो कुरा सुनेपछि दाजुले भने ।

यहाँभित्र रहेका सम्पदा सबै सम्पदालाई ध्यान दिएर हेर्ने हो भने तपाइको एक हप्ता यहीँ बित्ने छ दाजु ।

 विराटनगर शहरको बिशेषता तपाईलाई सुनाउँ ?

जोगवनी किमाथाङ्का सडकले यहाँको जन–जीवनलाई फेरेको छ ।

कुनै युरोपेली शहर भन्दा कम छैन विराटनगर । तिब्र गतिमा गुड्ने माेनाे रेल पनि विराटनगरमा छ ।

सरसर्ती घुमेर तेस्रो दिन हामी सगरमाथाका लागि निस्कनु पर्छ । मैले भनें ।

हुन्छ । उताबाट दाजुले भने ।

सगरमाथा विराटनगरबाटै जान्छ ।  टिकट पनि महङ्गो छैन् । ५ हजार तिर्दा आधार शिविरसम्म पुगेर आइन्छ । बाटो अफ्ठ्यारो होला नी ?
उताबाट दाजुले भने ।

छैन छैन , मैले भने ।
मुख्यमन्त्री शेरधन राईको पहलमा सगरमाथा आधार शिविरसम्मकै बाटो कालोपत्रे भएको छ । एक दिनमा  पुगिन्छ ।
 हामी आधारशिविरमा रहेको होमस्टेमा एक रात बस्ने छौँ ।
बाक्ला लुगा लिएर आउनु होला ।

त्यसपछि भोलिपल्ट बिहान सल्लेरी हुँदै अग्ला अग्ला पहाडलाई छिचोलेर चिन सरकारले बनाइदिएको रेल चढेर पाथीभरा मन्दिर दर्शनका लागि निस्कनेछौँ ।

पाथीभरा माताको मन्दिर दर्शन गर्न केबलकार चढेर जानुपर्छ । पूजाआजा पछि केवलकार चढेर बजारसम्म आउने छौ ।

बजारमा खाना खाएर हामी फिदिम हुँदै इलाम झर्ने छौँ । इलाम बजारमा दिदीको घर छ एकै क्षण त्यहाँ निस्किएर हामी फेरि छुकछुके रेलबाट कन्यामको मनमोहक चिया बगानको दृष्य हेर्दै विर्तामोडसम्म आउनेछौ ।

हाम्रो यात्रा विश्वको सर्वाेच्च शिखर सगरमाथादेखि नेपालको होचो भाग केचनकवलसम्मको हुनेछ । चौथोदिन हामी होचो स्थानको होमस्टेमा बस्छाैं ।

त्यहाको आदिवासी थारू र राजवंशी जातिको जातीय सांस्कृतिक नृत्य हेरेर फर्कने छौ । होमस्टेमा आउने पाहुनाका लागि त्यहाँका स्थानीयले साँस्कृतिक नृत्य प्रस्तुत गरेर स्वागत गर्ने चलन छ ।

पाँचौ दिन हामी बिहान विर्तामोड बजार घुम्छौ । विर्तामोड पूर्वको विराटनगरपछि ठूलो आर्थिक नगरीको रुपमा परिचित छ । बजारमा ठूलो बुबाको होटलमा खाना खाएर हामी दमक आउने छौ ।

दमकमा निर्माण भएको विश्वकै अग्लो बुद्धको मूति साँच्चै सुन्दर छ ।

हेरीरहुँ लाग्ने ।
बुद्ध दर्शन पछि दमक रंगशाला, प्रधानमन्त्री केपी ओलीको घर हेरेर पूर्व पश्चिम रेलमार्गको बाटो हुँदै उर्लाबारी मंगलवारेमा रहेको जननेता मदनभण्डारी स्मृति संग्रहालय हेर्नेछौ ।

त्यहाँ मदन भण्डारीको बाल्यकालदेखि दासढुंगासम्मको जीवनचक्रलाई उतारिएको छ ।
फेरी हामी सिधै इटहरी आउने छौ । इटहरी पूर्वको ठूलो बजार हो ।
इटहरीबाट हामी उत्तरतर्फ लाग्छौ ।

चीनको किमाथाङ्का र भारतको जोगवनी जोड्ने नजिकको नेपाल कै नजिकको बाटो हुँदै हामी भेडेटार धनकुटा, हिले, बसन्तपुर हुैदै गुरासको राजधानी तीनजुरे पुग्ने छौ ।

हामी त्यसपछि मनोरम दृष्य हेर्दै अरुण तेस्रो जलविद्युत आयोजना स्थलसम्म पुग्छौँ । समय मिले किमाथाङ्कासम्म पुगौंला नत्र खाँदबारीमा बास बसौँला ।

भोलिपल्ट बिहानै फर्कौंला ।

सातौँ दिन आफन्तसँग पनि भेटघाट गर्नु पर्छ हाम्रो घरमा बुबा आमासँग भेटघाट गरौंला ,
 हुन्न ?
 हुन्छ हुन्छ । दाजुले उताबाट भने ।

म अस्ति आउँदा त केही भएको थिएन ।
तर यति धेरै परिवर्तन कसरी भयो ? कुरा नपत्याए जस्तै गरी दाजुले भने ।

तपाईको ७ नम्बर प्रदेशमा के भयो थाहा भएन तर १ नम्बर प्रदेशको स्वरुप फेरियो ।

दिन दुई गुना रात चौगुना विकास निर्माणको कामले गति लियो । सबै काम धमाधम भैरहेको छ, मैले भने ।

 कसरी ?

यहाको समुदाय विकासमा केन्द्रित छ ।

मुख्यमन्त्री शेरधन राईसहित आर्थिक मामिला मन्त्री इन्द्र आङवोले बिकास निर्माणका लागि प्रर्याप्त बजेट विनियोजन गर्नुभएको छ ।

आन्तरिक मामला तथा कानुन मन्त्री हिक्मत कार्कीले सुरक्षा व्यवस्था मजवुद बनाएका छन् ।

सामाजिक विकास मन्त्री जीवन घिमिरे, जगदिश कुसियैतलगायत अरुले वन वातावरण र संस्कृति संरक्षणमा लागेका छन् ।
रोजगारीको अवसर सिर्जना भएका छन् ।

प्रदेश नम्बर १ मा गरिबी छैन । सबै सम्पन्न छन् सुखी छन् ।

ल भाइ बाँकी कुरा भेटेर गरौला । दाइले भने ।

 हुन्छ भन्दै मैले जवाफ फर्काए ।

म बोलेको साथीहरुले सुनि रहेका थिए ।

सगरमाथा जाने योजना बनाउँदै गरेका उनीहरु मेरो कुरा सुनेर निरास जस्तै देखिन्थे ।

हाम्रो ‘प्लान क्यान्सिल’ हो ? कुमारले सोध्यो ।  उसको प्रश्नमा नैराश्यता झल्किएको थियो ।

कहाँ क्यान्सिल हुनु जाने नी, मैले भने ।

अनि दाजुसँग जाने होइन ?
पहिले हामी जाने दाजु आएपछि पनि जाने, मैले भने ।

ए तेसो भए ठिकै छ भन्दै उनीहरु फेरी आफ्नो काममा व्यस्त भए ।
म भान्सामा छिरें ।

ग्यास चुलोमाथि चियाको दिउरे थियो । चिया सबै सुकेछ भाँडो डढेर सबै कालो भएछ । फोन उठाउ“दा चिया उम्लँदैथियो । कतिबेला चिया सुकेर दिउरे डढेछ पत्तै भएन ।
२०७५ बैसाख १५ गते उद्घाेष दैनिकमा प्रकाशित 

Comments

Popular posts from this blog

‘बाइ’लाइन

भेस्पा स्कुटरमा सरस्वती

यस्ताे छ माेरङका ६ वटै निर्वाचन क्षेत्रकाे अङ्क गणित