यस्ताे छ माेरङका ६ वटै निर्वाचन क्षेत्रकाे अङ्क गणित

मोरङ १ : चौथो परीक्षामा लेटाङका दुई शिक्षक

२४ असोज, विराटनगर । ‘२०७० सालमा मैले चुनाव जिते, २०७४ सालमा उहाँले जित्नुभयो, योपटक मेरो पालो,’ नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले यसो भन्दै गर्दा नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडा मुस्कुराए ।

लिम्बु र खतिवडाले प्रतिनिधिसभा सदस्यका लागि मोरङ- १ मा उम्मेदवारी दिएका छन् । दुबै मिल्ने साथी हुन् । चिसाङ खोला वारीपारी घर भएका उनीहरुको विगतको पेसा पनि एउटै हो । तर फरक फरक पार्टीमा रहेका कारण ३० वर्षयता एक–अर्कासँग चुनावी प्रतिस्पर्धा गर्दै आएका छन् ।

‘व्यक्तिगत रुपमा हाम्रो सम्बन्ध राम्रो छ’, लिम्बूले भने, ‘मैले चुनाव जितेका बेला २०७० मा लेटाङको नगरसभा स्थलमा घनश्यामले बाइकमा बोकेर मलाइ पुर्‍याए, उहाँले चुनाव जितेका बेला २०७४ को नगरसभामा मैले मोटरसाइकलमा बोकेर लगे ।’

घनश्याम २०३४ सालदेखि वुद्ध माध्यमिक विद्यालय, केराबारीमा शिक्षक थिए । मदन भण्डारीको संगतपछि स्थायी शिक्षकको जाागिर छाडेर पूर्णकालीन राजनीतिमा लागे । २०४२ सालमा जनपक्षीय उम्मेदवार भएर प्रधानपञ्च उठेका उनी चुनाव हारेपछि जेल परे । ६ महिनापछि जेलबाट छुटेका उनी भूमिगत भए ।

२०४५ मा धनकुटाको चौबिसे गाउँपालिकामा रहेको सिंहदेवी माध्यमिक विद्यालयमा शिक्षकको जागिर पाएका थिए, तर पार्टी राजनीतिमा संलग्न भएको थाहा पाएपछि जागिरमा अयोग्य हुने गरी निकालिए । २०४९ सालको गाविसको निर्वाचनमा उनी तत्कालिन लेटाङ गाविसको अध्यक्षको उम्मेदवार बने ।


लिम्बू २०३९ सालदेखि शिक्षण पेसामा लागेका थिए । लेटाङ नगरपालिका– ४ गुवाबारीका बासिन्दा उनी शान्ति भगवती माध्यमिक विद्यालयमा कार्यरत थिए । २०४२ सालबाट पार्टीमा जोडिएका डिगबहादुर शिक्षकको स्थायी जागिर छाडेर २०४९ मा राजनीतिमा आए र कांग्रेसबाट टिकट पनि पाए ।

चुनावी प्रतिस्पर्धामा खतिवडाले बाजी मारे । चुनाव हारेपछि लिम्बू थप दुई वर्ष शिक्षण पेसामा रहे । गाविस अध्यक्ष बनेका खतिवडा भने २०५२ सालमा गठन भएको गाविस महासंघको केन्द्रीय सदस्य बने । जिविस सभापति हुने योजनाका साथ उनले २०५४ मा गाविस सदस्यको चुनाव जितेका थिए । तर पार्टीले खड्गबहादुर बस्नेतलाई जिविस समिति सभापति बनायो ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसले डिगबहादुरलाई मोरङ–९ (हाल १) मा उम्मेदवार बनायो । एमालेबाट भने भुवनसिंह राईले टिकट पाए । दुबैलाई हराएर माओवादीका नगेन्द्र धिमाल संविधानसभा सदस्य चुनिए ।

२०७० सालमा कांग्रेसले डिगबहादुरलाई टिकट दिया भने एमालेले घनश्यामलाई हघ सारेपछि ०५१ का प्रतिस्पर्धी आमनेसामना भए । यो बेला माओवादीले वर्षमान पुनलाई उम्मेदवार बनाएको थियो । डिगबहादुर लिम्बू १५ हजार २०२ मतसहित विजयी हुँदा घनश्याम १२ हजार ९८९ मतका साथ दोस्रो स्थानमा रहे ।

२०७२ मा संविधान जारी भएपछि मोरङका ९ वटा क्षेत्र ६ वटामा सीमित भयो । खतिवडा र लिम्बुको क्षेत्र नम्बर १ बन्यो । २०७४ सालको निर्वाचनमा दुवै जना उम्मेदवार बने । वाम गठबन्धनबाट उम्मेदवार बनेका घनश्याम ३७ हजार ५२४ मतसहित विजयी हुँदा डिगबहादुरले ३१ हजार ४३६ मत मात्र पाए ।

यो पटक कांग्रेसबाट डिगबहादुर र एमालेबाट घनश्याम नै फेरि चुनावी मैदानमा छन् । अघिल्लो पटक घनश्यामलाई सघाएको माओवादी केन्द्र र एमालेबाट छुट्टिएको एकीकृत समाजवादीले यो पटक डिगबहादुरलाई समर्थन गरेको छ । एमालेले भने जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेको छ ।

शिक्षक हुँदै राजनीतिमा आएका दुई नेताले भएको तीन पटक प्रतिस्पर्धा गरिसकेका छन्, जसमा दुई पटक खतिवडासँग पराजित भएका लिम्बू यो पटक आफूले चुनाव जित्ने दाबी गर्छन् । सडक पूर्वाधार, नदी नियन्त्रणसँगै जनताको जनजिविकालाई सहज बनाउन आफू उम्मेदवार भएको उनको दाबी छ ।

एमाले उम्मेदवार खतिवडा भने जनताको आवाजलाई संसदसम्म पुर्‍याउन उम्मेदवारी दिएको बताउँछन् ।

मोरङ-२ मा ३१ वर्षपछि सुजातालाई टिकट, ऋषिकेशसँग टक्कर

२७ असोज, विराटनगर । १२ जेठ २०४८ सालमा नेपाली कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि जर्मनमा घरजाम गरी बसेकी छोरी सुजाता नेपाल आइन् । कोइरालाको चाहना सुजातालाई आफ्नो उत्तराधिकारी बनाउने थियो । जसका लागि आफ्नो क्षेत्र मोरङ क्षेत्र नम्बर १ (हाल २) बाट पार्टीको क्रियाशिल सदस्यता दिने बातावरण बनाए । तर, भाउजू नोना (शेखर कोइरालाकी आमा) र आफन्त आमोद प्रसाद उपाध्यायले रोके ।


‘नोना आमाले क्रियाशील सदस्यता रोक्नुको कारण शेखरको राजनीतिक भविष्य थियो,’ कोइराला परिवारसँग नजिक रहेका एक जना कांग्रेस नेताले भने, ‘सुजाताले मोरङबाट राजनीति गरे छोरा शेखरको राजनीतिमा असर पर्ने उहाँको बुझाइ थियो ।’ तर शेखरले राजनीति सुरु गर्दा विराटनगरसँग जोडिएको क्षेत्र नम्बर ६ रोजे । मोरङमा क्रियाशील सदस्यता नपाएपछि सुजाता सुनसरीतिर लागिन् । धरान र इटहरी केन्द्रित राजनीति गरेर उनले आफ्नो पहिचान स्थापित गरिन् ।

बुबाको क्षेत्र मोरङ-१ मा जाने चाहना पूरा नभए पनि सुनसरीमै बुबाले चुनाव लडेको क्षेत्र सुनसरी ५ (हाल४) बाट २०६४ सालमा संविधानसभा सदस्यको टिकट पाइन् । तर, पराजित भइन् । बुबाको क्षेत्रमा पराजित भएपछि उनले सुनसरीको राजनीति चटक्कै छाडिन् ।

‘राजनीतिक स्पेस’ खोजिरहेकी छोरीलाई गिरिजाले माधव नेपाल नेतृत्वको सरकारमा ११ जेठ २०६६ सालमा उपप्रधानमन्त्री तथा पराराष्ट्र मन्त्री बनाए । गिरिजाको निधनपछि उनी दोस्रो संविधानसभामा समानुपातिक सांसद बनिन् ।

त्यसपछि कोइराला निवासकै जग्गामा घर बनाए पनि मोरङमा उनको छुट्टै निर्वाचन क्षेत्र थिएन । २०७४ सालको निर्वाचनमा टिकट नपाएकी कोइराला यसपटक आफ्नै बुवाको क्षेत्र मोरङ-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् । गिरिजाको उत्तराधिकारीको रुपमा आफ्नो उम्मेदवारी भएको उनको दाबी छ ।

मोरङ-२ मा यसपटक २०७४ मा निर्वाचित प्रतिनिधिसभा सदस्य डा. मिनेन्द्र रिजाल र सुजाताको दाबी थियो । अन्तिममा सुजाताले टिकट पाइन् । बुबाले मोरङबाट राजनीतिमा समावेश गर्न चाहेको ३१ वर्षपछि टिकट पाएकी सुजाता मोरङ क्षेत्र नम्बर २ मै बसेर चुनावी अभियान सञ्चालन गरिरहेकी छिन् ।

बुबाको क्षेत्रमा आए पनि कोइरालालाई चुनाव जित्न सहज भने देखिदैन। उम्मेदवार भएपछि मात्रै यस क्षेत्रमा जानथालेका कारण उनलाई विपक्षीहरुले ‘पाहुना उम्मेदवार’ भन्न थालेका छन् ।

मोरङ २ को (क) मा गठबन्धनको तर्फबाट माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेतिले टिकट पाएका छन् । २ को (ख) बाट नेपाली काग्रेंसका विनोद कार्कीले टिकट पाएका छन् । सुनबर्सी नगरपालिका स्थायी ठेगाना भएका कार्की काठमाडौँमा व्यावसाय गर्छन्। स्थानीय दाबेदारलाई पछि पार्दै कार्कीले टिकट पाएका थिए ।

कोइरालाका मुख्य प्रतिस्पर्धी नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल हुन् । अखिलको राजनीतिबाट मूलधारको राजनीतिमा आएका पोखरेल २०७० सालको दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

विद्यार्थी राजनीतिका बेला २०५२ सालमा महेन्द्र मोरङ क्याम्पसको स्ववियू सभापति जितेका उनी २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस उम्मेदवार डा. रिजालसँग पराजित भएका थिए ।

रतुवामाई नगरपालिका-५ उल्लुघुटुका स्थायी बासिन्दा पोखरेल यो पटक चुनाव जित्ने दाबी गर्छन् । एमालेबाट क्षेत्र नम्बर २ को (क) मा दानबहादुर कार्की र (ख) मा लिलाबल्लभ अधिकारीले टिकट पाएका छन् । कार्की व्यावसायी हुन् । अधिकारी यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

यो क्षेत्रमा आ-आफुले जित्ने दलहरुको दाबी छ । नेपाली कांग्रेस मोरङ सचिव मोदराज घिमिरे कांग्रेसले क्षेत्र नम्बर २ जित्ने दाबी गर्छन् । कांग्रेसले उम्मेदवारी दिएका चारसहित गठबन्धनले प्रतिनिधिसभाका ६ वटै क्षेत्र जित्ने उनको दाबी थियो । गिरिजाप्रसाद कोइरालाको क्षेत्रमा राजनीतिक पृष्ठभूमि भएकी उनकै छोरी आएका कारण चुनाव जित्ने कांग्रेस नेताहरुको तर्क छ ।

तर, एमाले अध्यक्ष समेत रहेका ऋषिकेश पोखरेल आफूहरुले चुनाव जित्ने दाबी गर्छन् । सोही क्षेत्रका बासिन्दा पोखरेल जनतासँगै रहेका कारण आफूले चुनाव जित्ने बताउँछन् । उनले स्थानीय पूर्वाधार विकासलाई चुनावी एजेण्डा बनाएका छन् । ‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘प्रतिस्पर्धामा धेरै जनताले रोजेको मान्छे चुनिन्छ ।’

यस्तो छ हिसाब किताब

मोरङ क्षेत्र नम्बर-२ बाट २०७४ सालको निर्वाचनमा डा. रिजाल ३५ हजार ८१९ मतसहित विजयी हुँदा एमाले उम्मेदवार संविधानसभा सदस्य पोखरेलले ३४ हजार १४ मत पाएका थिए ।

सोही निर्वाचन क्षेत्रको प्रदेश (क) बाट नेपाली कांग्रेसका शिवनारायण गनगाई १६ हजार ४१८ मतसहित बिजयी हुँदा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता गणेश उप्रेतीले १५ हजार १०७ मत पाएका थिए ।

प्रदेशको निर्वाचन क्षेत्र ‘ख’ मा वाम गठबन्धनबाट एमालेका लिलाबल्लभ अधिकारी १८ हजार ३८६ मतसहित बिजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार घणिन्द्रबहादुर कुँवरले १७ हजार १२७ मत पाएका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर २ मा पर्ने रतुवामाई नगरपालिकामा कांग्रेसबाट बहुमत वडाध्यक्षसहित प्रमुखमा रविन राईले जितेका थिए । सुनवर्षीमा कांग्रेसका कालीप्रसाद दास बिजयी भएका थिए । रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकाका अधिकांश वडा कांग्रेसले जितको थियो ।

गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसले पकड गुमाएको छ । रतुवामाईको प्रमुखमा कांग्रेस बिजयी भएपनि उपप्रमुख र बहुमत वडा अध्यक्ष एमालेबाट विजयी भएका छन् ।

सुनवर्षी नगरपालिकाको बहुमत वडा सहित प्रमुख-उपप्रमुख एमालेले जितेको छ । रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकामा अधिकांश वडाहरु एमालेले जितेको छ ।

क्षेत्र नम्बर २ मा पर्ने वडाहरुमा स्थानीय तह निर्वाचनमा एमालेले ३१ हजार ३४० मत पाएको थियो । कांग्रेसले २८ हजार ६१४ मत पाएको थियो । अनि माओवादी केन्द्रले ७ हजार २७१ र जसपाले ४ हजार ३४६ मत पाएको थियो ।

रेखा थापाको प्रवेशले मोरङ ३ को प्रतिस्पर्धा रोचक

२४ असोज, विराटनगर । मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका डा. सुनिल शर्मा र नेकपा एमालेको भानुभक्त ढकाल स्वभाविक उम्मेदवार हुन् ।


२०७४ मा प्रतिस्पर्धा गरेका उनीहरुले यसपटक चुनाव घोषणा नहुँदै निर्वाचन क्षेत्र केन्द्रित गतिविधि बढाएका थिए । यो क्षेत्रमा कांग्रेस र एमाले हाराहारीका शक्ति हुन् भने उम्मेदवारद्वय शर्मा र ढकालले मतदाता रिझाउन स्थानीय स्तरमा सुनाउने एजेण्डामा पनि ठूलो अन्तर छैन ।

यो प्रतिस्पर्धामा राप्रपा नेता एवं अभिनेत्री रेखा थापाको प्रवेशले रौनकता थपिएको छ । मोरङ–३ मै पर्ने सुन्दरहरैंचा नगरपालिकाको सलकपुर घर भएकी थापा भदौ दोस्रो सातादेखि नै निर्वाचन क्षेत्रमा खटिएकी हुन् । यो क्षेत्रमा राप्रपाको संगठन त छ, तर जनाधार बलियो छैन । त्यसमाथि एमाले र राप्रपा नेतृत्वबीच तालमेलका लागि छलफल भएकाले रेखाले यही क्षेत्रमा उम्मेदवारी दिनेमा धेरैले आशंका गरेका थिए ।

किनकी एमालेका उम्मेदवार ढकाल थिए । उनलाई रोकेर एमालेले रेखालाई समर्थन गर्ने सम्भावना कम थियो । बरु रेखालाई मोरङकै अर्को क्षेत्रमा लैजान सक्ने नेताहरु बताउँथे । तर रेखा निरन्तर यसै क्षेत्रमा मतदाता भेटघाटमा व्यस्त रहिन् । मोरङमा एमालेसँग तालमेल पनि भएन र रेखाले मोरङ–३ बाटै प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिइन् ।

चुनावी माहौलमा देखिएको दृश्यका कारण राप्रपाका नेताहरु मोरङ–३ लाई जित्ने सम्भावना भएको क्षेत्र भन्न थालेका छन् ।

हुन पनि चुनावी अभियानमा रेखाले माहौल बनाएकी छन् । पार्टीका युवालाई लिएर टोलटोलमा जाने उनी महिला, किशोरीलाई भेट्छिन्, उनीहरुका गुनासो धैर्यपूर्वक सुन्छिन् । स्थापित अभिनेत्री उम्मेदवार बनेर आउँदा उनलाई सुन्ने, भेटेर तस्वीर खिच्ने र आफ्नो भावना खुलेर राख्नेहरु पनि प्रशस्तै भेटिन्छन् ।

यस्ता भेटहरुमा रेखाले आफूलाई नेताका रुपमा होइन, छोरी, दिदीबहिनीका रुपमा प्रस्तुत गर्छिन् । यो पटक आफूलाई जिताए भोलिभोलि अरु छोरीहरुले पनि चुनाव लड्ने साहस बटुल्ने बताउँछिन् । अरु उम्मेदवार जस्तो जितेर गएपछि हराउने होइन, मतदातामाझ आइरहने वाचा गर्छिन् ।

राप्रपा उम्मेदवार रेखा थापा चुनावी अभियानमा जनताले साथ दिइरहेको बताउँछिन् । ‘मतदाताले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ’, उनले अनलाइनखबरसँग भनिन्, ‘माहोल राम्रो छ, हामी हाम्रा एजेन्डाहरु तयार गर्दैछौं ।’ थापाले भौतिक पूर्वाधार, शिक्षा स्वास्थ्य र महिला सशक्तिकरणको मुद्दालाई चुनावी घोषणा पत्रमा समेट्ने तयारी गरेकी छन् ।

मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेस र एमालेले पनि रेखालाई ‘नोटिस’मा राख्न थालेका छन् । उनले चुनाव जित्ने वा नजित्ने अनुमान गर्न हतार हुन्छ, तर उनले पाउने मत चाहिँ हारजितमा निर्णायक हुन सक्ने एमालेका एक नेताले बताए ।

२०७४ को निर्वाचन परिणाम र स्थानीय निर्वाचन २०७९ को मतले पनि त्यही देखाउँछ । वाम गठबन्धनको साझा उम्मेदवार बनेका एमाले नेता भानुभक्त ढकाल ४२ हजार ४१३ मतका साथ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनिल शर्माले ४० हजार ५०६ मत पाएका थिए । अरु ११ उम्मेदवारले १५०० मत कटाएनन् ।

स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा एमालेको ३७ हजार ४१० मत देखिन्छ भने कांग्रेसको ३६ हजार ९१६ । माओवादी केन्द्रको ७ हजार ३७४, राप्रपाको २ हजार १२१, एकीकृत समाजवादीको एक हजार ८५५ र जनता समाजवादी पार्टी (जसपा) को ४६३ मत छ ।

कांग्रेस उम्मेदवार शर्मा विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौंको काठमाडौं मेडिकल कलेज सञ्चालक पनि हुन् । चुनावका क्रममा समेत शर्माले भोट माग्ने माध्यय ‘स्वास्थ्य शिविर’ लाई बनाएका थिए । त्यसकै बलमा उनले मत पाएका थिए । कम्युनिष्ट बाहुल्य क्षेत्र मानिने मोरङ–३ मा २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी र एमालेले पाएको मत कांग्रेसको भन्दा झण्डै दोब्बर थियो, तर ढकाल १९०७ मतान्तरले विजयी भएका थिए ।

अहिले पनि निर्वाचन मिति घोषणा भएयता शर्माले नोबेल मेडिकल कलेजको नामबाट पुनः स्वास्थ्य शिविर चलाइरहेका छन् । शर्माले नोबेल मेडिकल कलेजमा क्षेत्र नम्बर ३ का बासिन्दा भएको प्रमाण पेश गरे छुट दिन्छन् भने विरामी ल्याउन र लैजान सहुलियतमा एम्बुलेन्स सञ्चालन गरेका छन् । त्यसमाथि अघिल्लो पटक ढकाललाई साथ दिएको माओवादी केन्द्र र उनीसम्वद्ध एमालेबाट अलग भएको एकीकृत समाजवादीको साथ शर्मालाई छ ।

तर मेडिकल माफियाको आरोप खेप्दै आएका उनीमाथि शक्तिको बलमा टिकट लिएको आरोप पनि लाग्ने गर्छ । त्यसैले गठबन्धनमा आवद्ध दलहरुको मात्र होइन, आफ्नै पार्टीको मत पनि जोगाउन उनलाई सजिलो छैन ।

नेपाली कांग्रेसले २०७४ को चुनावमा एमालेका भानुभक्त ढकालले गरेका सबै वाचा अधुरो भएकाले यसपटक कांग्रेस उम्मेदवार फराकिलो मतान्तरले जित्ने बताउँछन् । कांग्रेसका मोरङ जिल्ला सचिव मोदराज घिमिरे भन्छन्, ‘हामी ५ देखि ७ हजार मतान्तरले चुनाव जित्छौं’, उनले भने, ‘त्यहाँ हिजो जितेका उम्मेदवारले काम गर्न सकेनन्, हारेपनि हाम्रो उम्मेदवारले निरन्तर जनताको काम गरिरहे ।’

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा आएका ढकाल तेह्रथुमका हुन्, तर सुरक्षित स्थान खोज्दै २०७४ मा मोरङ ३ मा आएका थिए । ‘टुरिष्ट’ उम्मेदवारको ट्याग लागेपछि उनले क्षेत्र नम्बर ३ मा पर्ने खोर्साने चोकमा घर बनाएका छन् । उनले यस क्षेत्रमा आफ्नो पहलमा सुरु भएका कामलाई पूरा गर्ने चुनावी एजेण्डा बनाएका छन् ।

तर सुकुम्बासी समस्या समाधानका लागि गरेको बाचाले उनलाई यो पटक अप्ठ्यारो पर्न सक्छ । अघिल्लो पटक चुनाव प्रचारमा उनले भनेका थिए, ‘यसपालिको निर्वाचनमा सुकुम्बासी समस्या र भूमि माथिको दोहोरो स्वामित्वको जुन स्थिति छ, अर्काे चोटी निर्वाचनमा आउँदा कम्युनिष्ट पार्टीको उम्मेदवारले बोल्नुनपर्ने गरी यो समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।’

तर समस्या ज्यूँकात्यूँ छन् । स्वास्थ्यमन्त्री कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको र औषधि खरिद विवादमा मुछिएका कारण उनीमाथि प्रश्न उठ्ने छ ।

एमालेले मोरङ ३ (क) मा किशोर राई र (ख) मा ज्ञानेन्द्र सुवेदीलाई उम्मेदवार बनाएको छ । यस्तै सत्ता गठबन्धनबाट भने (क) मा कांग्रेसका शेखरचन्द्र थापा र (ख) मा एकीकृत समाजवादीका लक्ष्मी श्रेष्ठ उम्मेदवार छन् ।

नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल क्षेत्र नम्बर ३ मा राम्रो प्रतिस्पर्धा हुने बताउँछन् । विगतमा पनि जितेको क्षेत्र भएका कारण चुनाव जित्ने उनको दाबी छ । ‘अहिले विपक्षीले नेगेटिभ प्रचार गरिरहेका छन्’, उनले भने, ‘त्यहाँ प्रतिस्र्धा छ, तर नेकपा एमालेले चुनाव जित्छ ।’

मोरङ ४ : तेस्रो पटक सांसद हुने मोदीको दाउमा ढकालको चुनौती

३१ असोज, विराटनगर । माओवादी केन्द्रका ३७ वर्षीय नेता अमनलाल मोदी (थारु) दुई पटक सांसद भइसके । २८ वर्षको उमेरमा संविधानसभा सदस्य बनेका मोदीले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता महेश आचार्यलाई पराजित गरे ।


माओवादी केन्द्रका केन्द्रीय सदस्य मोदी तेस्रो पटक संसद छिर्ने दौडमा छन् । मोरङ क्षेत्र नम्बर ४ बाट टिकट पाएका उनका प्रतिस्पर्धी छन्, नेकपा एमालेका नेता विनोद ढकाल ।

२०७० को दोस्रो संविधानसभा सदस्य समानुपातिक सूचीबाट निर्वाचित भएका मोदी २०७४ सालमा मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यो पटक चुनाव जितेमा उनी लगातार तेस्रो पटक सांसद हुनेछन् ।

ढकालले जिते उनका लागि संसदको पहिलो यात्रा हुनेछ । पहिलो संविधानसभाको उपनिर्वाचन (२०६५) मा मोरङ क्षेत्र नम्बर ७ मा उम्मेदवार बनेका ढकाल नेपाली कांग्रेस नेता डा. शेखर कोइरालासँग पराजित भएका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी एमालेबाट विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार बने, तर कांग्रेस उम्मेदवार भीम पराजुलीसँग पराजित भए ।

यो पटक उनी क्षेत्र नम्बर ४ मा पुगेका छन् । एमाले केन्द्रीय सदस्य ढकाललाई जनता समाजवादी पार्टी (जसपा)को साथ छ, तर केन्द्रको सहमति विपरीत जसपाको भागमा परेको प्रदेशसभाका दुई क्षेत्र (क्षेत्र नम्बर ४ ख र क्षेत्र नम्बर ६ ख) मा एमालेले उम्मेदवार उठाएका कारण जसपाका नेताहरु रुष्ट छन् ।

माओवादी केन्द्रका नेता मोदीलाई सत्ता गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी लगायतको समर्थन छ । जनताको काम गरेका कारण आफूले जित्ने उनको दाबी छ । ‘पछिल्लो पाँच वर्षमा सांसदको रुपमा आफ्नो तर्फबाट भूमिका खेलेको छु, गाउँमा विकास निर्माणकोे कामलाई अगाडि बढाएको छु,’ मोदी भन्छन् । उनको चुनावी एजेण्डा विपन्न नागरिकका लागि घर निर्माणदेखि सडक पूर्वाधार पुल, मठ मन्दिर निर्माण छन् ।

प्रदेश १ का सहइञ्चार्ज तथा मोरङ जिल्ला इञ्चार्ज समेत रहेका ढकालको विराटनगर क्षेत्रमा पकड राम्रो छ । उनी विराटनगरको एभरेष्ट स्कुलको अध्यक्ष हुन् । शनिबारबाट नियमित घरदैलो सुरु गरेका छन् । उनले विकास, समृद्धि र भ्रष्टाचारमुक्त समतामूलक समाज निर्माणको एजेण्डा बनाएका छन् । शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी पनि उनको प्राथमिकतामा छ ।

प्रदेशसभातर्फ मोरङ क्षेत्र नम्बर ४ (क)मा एमालेबाट जयप्रकाश चौधरी र (ख)मा जीवन घिमिरे तथा सत्ता गठबन्धनबाट (क)मा कांग्रेसका गुरुराज घिमिरे र (ख)मा भीम पराजुली उम्मेदवार छन् ।

यस्तो छ अंकगणित

मोरङ ४ मा ग्रामथान र कटहरी गाउँपालिकाको सबै वडासहित विराटनगरका १, २, ३, ८, १०, १९ तथा बेलबारीका ५, ६ र ७ वडा पर्दछन् । क्षेत्र नम्बर ४ मा एक लाख १० हजार ९३ जना मतदाता छन् ।

क्षेत्र नम्बर ४ मा रहेका स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार एमाले अगाडि छ । एमालेले २५ हजार ७३० र कांग्रेसले २१ हजार ८९४ मत पाएको थियो । माओवादीले ९ हजार ९९०, राप्रपाले ४ हजार ६७४, जसपाले ३ हजार ११२ र एकीकृत समाजवादीले १ हजार २५५ मत ल्याएका थिए ।

मोरङ ५ : जसपालाई फेरि ‘धोका’

१६ कात्तिक, विराटनगर । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन छाड्नुको कारणमध्ये एक हो, विराटनगर महानगरपालिकाको चुनावमा ‘धोका’ पाउनु ।


नेपाली कांग्रेसका नागेश कोइराला मेयरमा निर्वाचित हुँदा यादवका छोरा अमरेन्द्र उपमेयरमा पराजित भएका थिए । त्यसलाई यादव स्वयंले कांग्रेसले दिएको धोका भन्ने गरेका छन् ।

मनोनयन दर्ताको अघिल्लो दिन सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग तालमेल गर्न पुगेका यादवले मोरङमा कुनै समय आफू लडेको क्षेत्र नम्बर ५ छाडेनन् ।

दोस्रो संविधानसभा निर्वाचन-२०७० यादव यो क्षेत्रबाट चुनाव लडेका थिए, तर जित्न सकेनन् । जसपा नेताहरुका अनुसार यो पटक उनी आफैं आउने सम्भावना थियो । तर सप्तरी २ भन्दा पनि असुरक्षित देखेपछि नआउने निर्णयमा पुगे र मोरङ सभापति अध्यक्ष राजकुमार यादवलाई उम्मेदवार बनाए ।

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल उम्मेदवार बनेका छन् । मोरङ ५ बाट प्रतिनिधिसभा सदस्यका लागि यादव र मण्डलसहित १६ जना उम्मेदवार चुनावी मैदानमा छन् भने  योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवार छन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक मण्डल पाँच वर्षयता चुनावी तयारीमा थिए । एमाले नेताहरूका अनुसार ०६४ यता पार्टी कमजोर रहेको यो क्षेत्रमा संगठन विस्तारमा मण्डलले नै अगुवाइ गरेका थिए । तर एमालेले यो क्षेत्र जसपालाई छाडेपछि उनी स्वतन्त्र उम्मेदवार बनेका हुन् । जनताको सल्लाहमा उम्मेदवारी दिएको भन्दै उनले भने, ‘राम्रो रेस्पोन्स पाइरहेको छु ।’

चापाकल चुनाव चिह्न पाएका उनले जति भोट पाउँछन्, यो अधिकांश एमाले समर्थककै हुनेछ ।

सत्ता गठबन्धन भने एकतावद्ध देखिएको छ । यो क्षेत्रमा नेपाली कांग्रेस पहिलो पार्टी हो । २०७० मा चुनाव जितेका र अघिल्लो पटक शिवकुमार मण्डलसँग पराजित भएका कांग्रेस नेता अमृत अर्याल यो पटक पनि टिकटका आकांक्षी थिए ।

तर सत्ता गठबन्धनको भागवण्डामा यो क्षेत्र माओवादीको भागमा परेपछि अर्याल मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशसभा निर्वाचन क्षेत्रमा झरेका छन् । र, मण्डलले पार्टीको संगठनमा बलियो पकड बनाएका अर्यालको राम्रो साथ पाएका छन् ।

२०६४ सालको अन्तरिम संसदको मनोनीत सदस्य मण्डलले २०६४ यता निरन्तर चुनाव लडिरहेका छन् ।

उनी पहिलो संविधानसभा निर्वाचन-२०६४ मा उपेन्द्र यादवसँग पराजित भए । दुई क्षेत्रबाट चुनाव जितेका यादवले मोरङ ५ छाडेपछि २०६५ मा भएको उपनिर्वाचनमा पनि मण्डल उम्मेदवार भए, तर जसपाका जयराम यादवसँग पराजित भए ।

२०७० सालमा ८ मतअन्तरले विजयी भए । तत्कालीन ४ (हाल ५) बाट माओवादी उम्मेदवार मण्डलले ९ हजार ३६० मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार गयानन्द मण्डलले ९ हजार ३५२ मत पाएका थिए । २०७४ मण्डल २२ हजार ९४५ मतका साथ विजयी हुँदा अर्यालले १९ हजार १५३ मत पाएका थिए । यो चुनावमा जसपाका उम्मेदवार यादव भने तेस्रो भएका थिए ।

सत्तारुढ गठबन्धनबाट क्षेत्र नम्बर ५ को प्रदेशसभातर्फ ‘१’ मा गयानन्द मण्डल र ‘२’ मा अमृत अर्याल उम्मेदवार छन् । दुवै उम्मेदवारले पालैपालो मण्डलसँग हारेको संयोग पनि छ । २०७० सालमा गयानन्द ८ भोटले पराजित भएका थिए भने २०७४ मा अर्याल ३ हजार ७९२ मतका साथ पराजित भए ।

एमाले-जसपा गठबन्धनबाट १ मा एमालेका सन्तोषकुमार साह र २ मा जसपाका जयराम यादव उम्मेदवार छन् । यादव प्रदेश १ का स्वास्थ्यमन्त्री समेत हुन् । उनको क्षेत्रमा तालमेलको सहमति अस्वीकार गर्दै एमालेबाट प्रदेशसभाका निवर्तमान सदस्य बसन्तीदेवी यादवले बागी उम्मेदवारी दिएकी छन् ।

‘एमालेबाट सहमतिको पालना भएन, तर अहिले बोल्ने अवस्था छैन,’ जसपाका एक नेता भन्छन्, ‘आफ्ना उम्मेदवार भएको स्थानमा स्वस्थ प्रतिस्पर्धा गर्छौं ।’

एक लाख ४९४ जना मतदाता रहेको क्षेत्र नम्बर ५ को दक्षिणी सीमा भारतसँग जोडिएको छ । यो क्षेत्रमा सडक पूर्वाधार, कृषि र सीमापार चोरी निकासी पैठारीको समस्या छ । चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुले पनि सडक पूर्वाधार, कृषि रोजगारी र नागरिकताको समस्या सामाधान आश्वासन दिएका छन् ।

जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानको नागरिकताको पनि समस्या छ । घरदैलोमा जाँदा उम्मेदवारले नागरिकताको समस्या सामधान गनका लागि पहल गर्ने प्रतिवद्धता पनि जनाइरहेका छन् ।

माओवादी केन्द्रका नेता भोगेन्द्र यादवले सडक पूर्वाधार, विजुली, शिक्षा, स्वास्थ्य, रोजगार, कृषिलाई व्यवसायीकरणको मुद्धालाई प्राथमिकतामा राखिएको बताउँछन् । नागरिकता समस्या सामधान गर्ने पनि आफूहरुको प्रतिवद्धता भएको उनले सुनाए ।

स्वतन्त्र उम्मेदवार योगेन्द्रले पनि मतदाता भेट्दा कृषिमा व्यावसायीकरण, गुणस्तरीय स्वास्थ्य शिक्षा र नागरिकताको समस्या सामधान गर्ने प्रतिवद्धता जनाइरहेको बताए ।

स्थानीय चुनावको अंकगणित

मोरङ क्षेत्र नम्बर ५ मा विराटनगर महानगरको वडा नम्बर १३-१८, रंगेली नगरपालिकाको वडा नम्बर ४-७ तथा धनपालथान र जहदा गाउँपालिका पर्छ ।

विराटनगर, धनपालथान र जहदा कांग्रेसको प्रमुख कांग्रेसले जितेको छ भने रंगेली एमाले । वडाअध्यक्षका उम्मेदवारहरुले मतका आधारमा पनि कांग्रेस नै अगाडि छ ।

उसले १९ हजार ४९८ मत पाएको छ भने एमाले १५ हजार ६८०, जसपाले १३ हजार २४९ र माओवादी केन्द्रले ११ हजार ६२८ मत पाएको छ । राप्रपाले एक हजार ८८७, जनमत पार्टीले एक हजार ७८ मत पाउँदा लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादीको मत हजारभन्दा कम छ ।

मोरङ ६ : फेरियो परिवेश, प्रतिस्पर्धा शेखर र लालबाबुकै

२३ असोज, विराटनगर । प्रतिनिधिसभा सदस्यका लागि मोरङ क्षेत्र नम्बर ६ मा १६ जनाको उम्मेदवारी परेको छ । तर मुख्य प्रतिस्पर्धा चाहिँ २०७४ मा झै नेपाली कांग्रेसका डा. शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डितबीच हुने देखिएको छ ।


पाँच वर्षअघि लालबाबु र र डा. शेखरका एजेण्डा उस्तै थिए । दुवै नेता प्राथमिकता संविधान कार्यान्वयन र विकास निर्माण थियो । यो पटकको एजेण्डा भने फरक छन् । डा. शेखरले संविधानलाई संस्थागत गर्दै विकास निर्माणलाई अगाडि लैजान गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको बताउँछन् । पण्डित आफूले सुरु गरेका विकास निर्माणलाई पूरा गर्ने एजेण्डा बनाएका छन् ।

कांग्रेसभित्र ‘प्रतिपक्षी’ नेताको रुपमा उदाएका कोइराला निर्वाचन जिते प्रधानमन्त्रीसम्म बन्ने दाउ छ । संविधानको रक्षाका लागि बनेको गठबन्धनको नेतृत्व कांग्रेसले गरिरहेको भन्दै उनले चुनावपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरे । त्यो बेला प्रधानमन्त्रीमा तपाईँको दाबी रहन्छ भन्ने प्रश्नमा उनले चुनाव सकिन दिन आग्रह गरे । उनले भने, ‘मंसिर ४ मा निर्वाचन छ, त्यसपछि रिजल्ट आउछ, त्यसपछि पार्लियामेन्ट गइन्छ, अनि अगाडि बढ्छ ।’

एमाले उम्मेदवार पण्डित भने पाँचवर्षे कार्यकालमा विकास निर्माणको उल्लेख्य काम सुरु गरेको बताए । ‘मेरो कार्यकालमा सुरु भएका विकास निर्माणका कामहरु अधुरा छन्’, उनले भने, ‘त्यसलाई पूरा गर्न मेरो उम्मेदवारी हो ।’

फेरिएको परिवेश

मोरङ ६ का मुख्य प्रतिस्पर्धी पुरानै भएपनि परिवेश फरक छ । २०७४ मा पण्डितले वाम गठबन्धनको अर्को घटक माओवादीको समर्थन पाएको थियो । पण्डित ३३ हजार ९४१ मतका साथ विजयी भएका थिए । एक्लै चुनाव लडेका डा. शेखरले ३३ हजार २६६ मत प्राप्त गरेका थिए । ४ मंसिरको चुनावमा माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको साथ उनलाई छ ।
एमाले उम्मेदवार पण्डितलाई भने यो पटक जनता समाजवादी पार्टी (जसपा) को साथ छ ।

अघिल्लो पटक चुनाव जितेका पण्डित मन्त्री भए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ फागन २०७४ मै पण्डितलाई मन्त्री नियुक्त गरेका थिए, झण्डै दुई वर्ष मन्त्री रहे ।

डा. शेखर भने पार्टीमा प्रतिपक्षीका रुपमा उदाएका छन् । संस्थापन इतर समूहमा रहेका उनले कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका थिए । सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपनि ४० प्रतिशत मत पाएका उनको समूहबाट पार्टीमा उपसभापति, महामन्त्री र सहमहामन्त्री चुनिए । पार्टी महाधिवेशनबाट नेताका रुपमा बनाएको छविको लाभ उनलाई आसन्न चुनावमा पनि हुने कांग्रेस नेता कार्यकर्ता बताउँछन् ।

यो क्षेत्रबाट कोइराला र पण्डित दुवै आफूले जित्ने दाबी गर्छन् । तर दुवैलाई सहज भने छैन । स्थानीय निर्वाचनमा डा. शेखर पक्षले खेलेको भूमिकाका कारण संस्थापन पक्ष असन्तुष्ट छ । तर एमाले र जसपाको तालमेलमा पनि असन्तुष्टि देखिएको छ ।

जसपा र एमालेबीच भागवण्डा हुँदा क्षेत्र नम्बर ६ को (ख) जसपाको भागमा परेको थियो । जसपाले राजेन्द्र गुप्तालाई उम्मेदवार बनाएको छ । तर एमालेबाट प्रदेशसभा (क) मा रीता न्यौपाने र (ख) मा पर्शुराम बस्नेतले मनोनयन दर्ता गरेका छन् ।

सत्ता गठबन्धनबाट मोरङ–६ (क) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन आचार्य उम्मेदवार छन् भने (ख) बाट कांग्रेसका केदार कार्की उम्मेदवार छन् ।

२०४८ देखि निरन्तर पण्डित

नेकपा एमालेको मजदुर संगठनबाट राजनीति सुरु गरेका पण्डित २०४८ सालयता चुनावी राजनीतिमा छन् । २०४८ सालको निर्वाचनमा तत्कालीन मोरङ–३ मा उनले चुनाव लडेका कांग्रेसका बद्रीनारायण बस्नेतलाई पराजित गरेका थिए ।

२०५१ सालको मध्यावधि निर्वाचनमा सोही क्षेत्रमा बस्नेतसँग उनी पराजित भए । २०५६ को निर्वाचनमा पण्डित फेरि उम्मेदवार बने र कांग्रेसका गोपाल राजभण्डारीलाई पराजित गरे । पहिलो संविधानसभामा समानुपातिक पद्धतिबाट सांसद बनेका लालबाबुले दोस्रो संविधानसभा निर्वाचनमा टिकट पाएनन् । २०७४ को निर्वाचनमा मोरङ–६ बाट टिकट पाउँदा उनले डा. शेखर कोइरालालाई पराजित गरे ।

दुईपटक मन्त्री बन्ने मौका पाएका उनी एमालेभित्र माधवकुमार नेपाल समूहमा थिए । ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरेपछि कित्ता परिवर्तन गरेर केपी शर्मा ओली पक्षमा लागेका उनी हाल स्थायी कमिटी सदस्य छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा जागिरे जीवनको अन्त्य गरेर पूर्णकालीन राजनीतिमा आएका डा. शेखरले हालसम्म एक उपनिर्वाचनसहित चारवटा चुनाव लडे, जसमा दुई पटक सफल भए ।

डा. शेखर २०६४ को संविधानसभा निर्वाचनमा मोरङको तत्कालिन क्षेत्र नम्बर ७ मा तत्कालिन मधेशी जनअधिकार फोरमका विजयकुमार गच्छदारसँग ५ हजार १५५ मतान्तरले पराजित भएका थिए । पहिलो संविधानसभामा सुनसरी–३ बाट पनि निर्वाचित गच्छदारले मोरङ ७ छाडेपछि २०६५ चैत २८ गते भएको उपनिर्वाचनमा कांग्रेसबाट डा. शेखर नै उम्मेदवार बने ।

तत्कालिन फोरमका चुमनारायण तबदारलाई पराजित गर्दै संविधानसभा सदस्य निर्वाचित भए । शेखरले १२ हजार ७१ मत पाउँदा तबदारले ११ हजार ३९७ मत प्राप्त गरेका थिए । २०७० सालको दोस्रो संविधासभा निर्वाचनमा डा. कोइराला तत्कालिन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई पराजित गरे । १२ हजार ९८२ मतका साथ कोइराला विजयी हुँदा गच्छदारले १० हजार ५६४ मत पाएका थिए ।

२०७२ सालमा नयाँ संविधान जारी भएपछि मोरङको ९ निर्वाचन क्षेत्र ६ वटा कायम भयो । त्यसपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ६ बाट उठेका डा. कोइराला एमालेका लालबाबु पण्डितसँग झिनो मतान्तरले पराजित भएका थिए ।

माेरङ १ https://www.onlinekhabar.com/2022/10/1202666
माेरङ २ https://www.onlinekhabar.com/2022/10/1204115
माेरङ ३ https://www.onlinekhabar.com/2022/10/1203098
माेरङ ४ https://www.onlinekhabar.com/2022/10/1205794
माेरङ ५ https://www.onlinekhabar.com/2022/11/1211909
माेरङ ६ https://www.onlinekhabar.com/2022/10/1202475

Comments

Popular posts from this blog

‘बाइ’लाइन

भेस्पा स्कुटरमा सरस्वती