सुन तस्करी प्रकरण: तस्कर चर्चित, प्रहरी बद्नाम

विराटनगर, २४ जेठ । सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको संगठित सुन तस्करी प्रकरणको मुद्दा जिल्ला अदालत मोरङमा विचाराधीन छ । करिब ३८ क्विन्टल सुन तस्करी गरेको दाबीसहित दायर गरिएको सो मुद्दामा उच्च पदस्थ प्रहरीसहित ३१ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
अहिलेसम्मकै ठूलो संगठित सुन तस्करी प्रकरणमा प्रहरीले पहिलो चरणमा ६३ जनाविरूद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रूपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम सुन आयात गरिएको दाबीसहित ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दायर गरेको थियो । त्यसबाहेक थप पाँच जनालाई पूरक अभियोगसमेत लगाइएको छ ।
गत फागुन १८ गते तस्करीको सुन हराएपछि भरियाका नाइके चुडामणि उप्रेती ‘गोरे’सहितको समूहले यातना दिएकै कारण शाक्यको ज्यान गएको थियो । शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको संगठित तस्करीको जालो खोज्न गृहमन्त्री रामबहादुर थापा बादलले गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति गठन गरेका थिए । समितिले गरेको अनुसन्धानबाट सुन तस्करीमा संलग्न गिरोहको पर्दाफास भयो भने नेपाल प्रहरी इतिहासमै पहिलोे पटक यति धेरै बद्नाम भयो ।
उच्च पदस्थ प्रहरी अधिकृत मुछिएपछि नेपाल प्रहरी बदानाम भयो भने सामान्य परिवारबाट तस्करीमा लागेका चुडामणि उप्रेती ‘गोरे’ एकाएक चर्चामा आए । सुनकाण्डमा ‘गोरे’सहित उनको परिवार र अन्य तस्करहरू समेत उत्तिकै चर्चामा रहे ।

सुनले चिनाएका तस्कर
सुन तस्करी प्रकरणमा सबैभन्दा बढी चर्चित बनेका व्यक्ति हुन्– चुडामणि उप्रेती ‘गोरे’ । गत माघ पहिलो साता तस्करीको बाटो हुँदै भित्रिएको साढे ३३ किलो सुन हराएपछि खोज्ने क्रममा मारिएका शाक्यको शव उर्लाबारी–७ घर भएका शाक्यको शव माघ १९ गते विराटनगरको पोखरिया क्षेत्रमा स्कार्पियो गाडीभित्र भेटिएको थियो ।
शाक्यको हत्यापछि आफ्ना सहयोगी टेकराज मल्ल ठकुरी, प्रहरी नायब उपरीक्षक प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई लास व्यवस्थापन गर्ने जिम्मा दिएर भागेको भनिएका ‘गोरे’ एकाएक चर्चामा आए ।
शाक्यसहित नरेन्द्र कार्की र मोहन काफ्लेलाई करेन्ट लगाएर दिएको यातनाको भिडियो सार्वजनिक भएपछि ‘गोरे’लाई गाली गर्नेको संख्या ह्वात्तै बढ्यो । सामाजिक सञ्जालमा गोरेलाई गाली गर्ने होडबाजी नै चल्यो । सो घटना सेलाउन नपाउँदै अन्ततः उनी काठमाडौंबाट पक्राउ परे ।
आफू चर्चित भएको कुरा ‘गोरे’ले अदालतमा बयानका क्रममा पटक–पटक उल्लेख गरेका थिए । उच्च सुरक्षा पाएका ‘गोरे’ले बयानका क्रममा आफ्नो नाम एउटा ‘ब्राण्ड’ बनेको बताउने गरेका थिए ।
त्यस्तै सुन तस्करी प्रकरणमै चिनिएका अर्का व्यक्ति हुन्– एस्एस्पी श्यामबहादुर खत्री । विवादास्पद एस्एस्पी खत्री छानबिन समितिले पक्राउ गर्ने डरले भागेका थिए । आफ्ना ड्राइभर बिष्णुबहादुर खड्का पक्राउ परेपछि भागेका खत्री डेढ महिनापछि आफैं अदालतमा उपस्थित भएका थिए ।
हत्या गरिएका भरिया शाक्यसहित अन्य भरियाहरू मोहन काफ्ले, माधव घिमिरे, नरेन्द्र कार्की, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, भविन राई भनिने भविन तामाङसहित मुद्दा दायर गरिएका ६३ जना नै कुनै न कुनैरूपले चर्चित भए ।
त्यसैगरी सुन तस्करी प्रकरणमा धेरै चर्चित हुने अन्यमा लगानीकर्ता भनिएका राप्रपा नेता भुजुङ गुरुङ, छिरिङ वाङ्गेल घले, मोहनकुमार अग्रवाल, रूस्तम मियाँ, महावीरप्रसाद गोल्यान छन् । भुजुङ र घले पुर्पक्षका लागि कारागार चलान भएका छन् भने अग्रवाल र भारतीय नागरिक मिया“ भने हालसम्म फरार छन् ।
त्यस्तै विमानस्थलमा काम गर्ने राजेन्द्रकुमार शाक्य, लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, सम्वीरप्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, पुन्यप्रसाद लामा तामाङ, हेमन्त गौतम, राजु महर्जन, राजु थापा, अमरमान डंगोल, तुलाराम थारूलगायत पनि चर्चामै रहे ।

प्रहरी बद्नाम
सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा एक प्रकारले ‘लहरो तान्दा पहरो थर्कियो’ भन्ने नेपाली उखान चरितार्थ भयो । धेरै क्षति नेपाल प्रहरीले ब्यहोर्नु पर्यो । सुन तस्करी प्रकरणमा प्रहरीका उच्च अधिकृतहरू नै मुछिएपछि नेपाल प्रहरीको ब्यापक आलोचना भयो ।
सुन तस्करी प्रकरणमा पूर्व डीआईजी गोविन्द निरौलासहित दुई एस्एस्पी, एक एस्पी र दुई डिएस्पी मुछिए । सुन तस्करी र शाक्य हत्या प्रकरणमा निलम्बित एस्एस्पी श्यामबहादुर खत्री, दिवेश लोहनी, एस्पी विकासराज खनाल, डिएस्पीद्वय प्रजित केसी र सञ्जयबहादुर राउत तथा सई बालकृष्ण सञ्जेल पूपक्र्षका लागि थुनामा छन् ।
प्रहरी संगठनभित्र रहेर तस्करी र संगठित अपराध गरेको आरोप लागेका उच्च पदस्थ प्रहरीहरूले बद्नामसँगै चर्चा पनि कमाए ।तस्करी प्रकरणमा मुछिएका प्रहरी हबल्दार अमरबहादुर थापा र जवान बिष्णुबहादुर खड्काबाहेक सबैजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । एस्एपी श्याम खत्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहँदा अंगरक्षक रहेका थापा र ड्राइभर खड्का भने तारेखमा छुटेका छन् ।

पाठकको तीन घण्टा लामो बहस
संगठितरूपमा सुन तस्करी र शाक्य हत्या अभियोग प्रकरणमा मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक पनि चर्चित भए । जिल्ला अदालत मोरङको ६ नम्बर इजलासमा प्रतिवादी कानून व्यवयायीहरूको एकसाताभन्दा लामो बहस सकिएपछि निरन्तर तीन घण्टासम्म तार्किक प्रतिउत्तर बहस गरेका पाठकसहितको सरकारी वकिलहरूको समूह अभियुक्तहरूलाई पुर्पक्षका लागि जेल पठाउन सफल भएको थियो ।
पाठकसहितका सरकारी वकिलहरूले अभियोगपत्र तयार पार्नेदेखि संगठित अपराधबारे अदालतलाई बुझाउन समूह बनाएर थुनछेक बहसमा सहभागी भएका थिए । पाठकको समूहमा सहायक न्यायाधिवक्ता रोहित पोखरेल, नारायण वस्ती र उच्च अदालतका सह–न्यायाधिक्ता चिरन्जीवी पराजुली थिए । एसएसपी दिवेश लोहनीविरूद्धको अभियोगमा हच्किएको प्रहरीले जिल्ला न्यायाधिवक्ता पाठककै दबाबमा अन्तिम समयमा आएर संगठित अपराधअन्तर्गत अभियोगपत्र तयार पारेको थियो ।
त्यसो त सुन र शाक्यको हत्या अभियोग दर्ता भएको मोरङ जिल्ला अदालत र न्यायाधीश नारायणप्रसाद शर्मा पनि उत्तिकै चर्चित भए । शर्माको ६ नम्बर इजलासले नै ६३ जनाविरूद्ध दायर गरिएको मुद्दाको सुनवाई गरेको थियो ।

माननीयको आलोचना
सुन तस्करी प्रकरण र शाक्यको हत्या अभियोग लागेका प्रहरी सई बालकृष्ण सञ्जेलको पक्षमा बहस गरेका प्रदेश नम्बर १ का सांसद लीलाबल्लभ अधिकारीले पनि चर्चा कमाए । तर उनको चर्चा भने नकारात्मकरूपले बढी भयो ।
पेशाले कानून व्यवसायी रहेका अधिकारी मोरङ क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । सांसदका रूपमा राज्यबाट सेवा, सुविधा लिँदै आएका सांसद अधिकारीले सरकारीवादी मुद्दाविरूद्ध तस्करीको पक्षमा बहस गरेको भन्दै नैतिक प्रश्न उठेको थियो ।
बहस गरेपछि आलोचित बनेका सांसद अधिकारीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नम्बर १ को संसदीय दल सचिवालयले स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ ।

श्रेष्ठलाई नैतिक संकट
पूर्वमहान्यायधिवक्ता समेत रहेका रमनकुमार श्रेष्ठ तस्करी प्रकरणमा मुछिएकाको प्रतिरक्षा बहस गरेपछि उनको ब्यापक आलोचना भयो । विगतमा श्रेष्ठ महान्यायधिवक्ता भएकै बेला एस्एस्पी श्यामबहादुर खत्रीसहितका अभियुक्तलाई विमानस्थलबाट बरामद भएको ३३ किलो सुन तस्करी मुद्दा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।
एक वर्षअघि आफैं पक्ष भएर मुद्दा दायर गरेका श्रेष्ठले पदबाट हटेपछि सोही मुद्दामा जोडिएको करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका राप्रपा नेता भुजुङ गुरुङका पक्षमा बहस गरेका थिए ।
राप्रपा नेतासमेत रहेका गुरुङका पक्षमा बहस गरेका श्रेष्ठले मुद्दा दायरको तयारी हुँदै गर्दा जिल्ला न्यायाधिवक्ता पुन्यप्रसाद पाठकलाई फोन गरेर प्रतिपक्षीले प्रश्न नउठाउने गरी अभियोग तयार पार्न सुझाव दिएका थिए । आफू महान्यायाधिवक्ता हुँदा सुरू भएको बताउँदै उनले मुद्दा दह्रो बनाउन सुझाव दिएका थिए । तर पछि आफैं गुरुङका पक्षमा बहस गर्न आएपछि उनी आलोचित बनेर फर्किए ।

कानून व्यवसायीलाई दशैं 
गत वैसाख १९ गते मुद्दा दर्ताको तयारी हुँदै गर्दा सरकारी वकिलको कार्यालयमा एकजना कानून व्यवसायी पुगेका थिए । ती कानून व्यवसायीलाई एक सरकारी वकिलले ‘तपाईहरूलाई दशैं आयो’ भन्दै व्यङ्ग्य गरेका थिए । सो मुद्दामा काठमाडौंदेखिका कानून व्यवसायी विराटनगर आएर आ–आफ्नो पक्षको प्रतिरक्षामा बहस गरेका थिए । काठमाडौंबाट आएका वरिष्ठ अधिवक्ता शम्भु थापा, यदुनाथ खनाललगायतले प्रतिवादीका तर्फबाट बहस गरेका थिए ।

पीडामा आमा
सुन तस्करी प्रकरणमा नेत्रप्रसाद उप्रेतीको परिवारका धेरै सदस्य परे । उप्रेतीका दुई छोरा र बुहारीमात्र मुछिएनन्, छोराकी प्रेमिका पनि जोडिएकी थिइन् ।सुनकाण्डमा मुछिएका ‘गोरे’ र रमेश नेत्रप्रसादका छोरा हुन् भने निरू (नर्वदा) बुहारी हुन् । त्यस्तै रक्षा भण्डारी ‘गोरे’की प्रमिका हुन् । तर ‘गोरे’ बाहेक उप्रेती परिवारका सबैजना फरार छन् ।
नेत्रप्रसादकै भनाइमा घरमा उनकी श्रीमती र पाँच वर्षका नाति छन् । केहीदिन अघि विराटनगरमा आएका बेला उनले छोरासँग जोडिएको समाचार टिभीले दैनिकरूपमा प्रसारण गर्न थालेपछि श्रीमतीलाई बढी पीडा भएको दुखेसो पोखेका । ‘गोरे’का पाँच वर्षीय छोरा घरमा छन् भने बुहारी नर्वदासमेत ६ महिनाको काखेछोरो च्यापेर भागेकी छन् ।
त्यस्तै सुन तस्करी प्रकरणमा मृतक सनम शाक्यकी श्रीमती सुनिता र आमा पनि बेलाबेलामा चर्चामै आएका थिए । उनीहरूले हत्यारालाई हदैसम्मको कानूनी कारवाही हुनुपर्ने माग गर्दै आएका छन् ।

Comments

Popular posts from this blog

‘बाइ’लाइन

भेस्पा स्कुटरमा सरस्वती

यस्ताे छ माेरङका ६ वटै निर्वाचन क्षेत्रकाे अङ्क गणित